‘अब चितवनमा पनि कलेजो प्रत्यारोपण सेवा सुरु हुन्छ’

A generic square placeholder image with rounded corners in a figure.
चितवनमा पनि कलेजो प्रत्यारोपण

चितवन । चिकित्सा विज्ञानमा अति विशिष्ट मानिने कलेजो प्रत्यारोपण सेवा चितवनको पुरानो मेडिकल कलेजमा पनि सुरु हुने भएको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको अंग प्रत्यारोपण समन्वय समितिको सचिवालयले गत वैशाख ३० गते पुरानो मेडिकल कलेज (कलेज अफ मेडिकल साइन्स नेपाल) लाई कलेजो प्रत्यारोपण सेवा सञ्चालन गर्ने अनुमति दिएको छ ।

पुरानो मेडिकल कलेजसँगै चितवन मेडिकल कलेज (सीएमसी)ले पनि कलेजो प्रत्यारोपणको अनुमति पाएको छ । पुरानो मेडिकल कलेज र चितवन मेडिकल कलेज करिब ६ सय मिटर दुरीमा छन् ।

यससँगै नेपालमा कलेजो प्रत्यारोपणसम्बन्धी अनुमति पाउने स्वास्थ्य संस्थाको संख्या चार पुगेको छ । मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुर र त्रिवि शिक्षण अस्पताल महाराजगञ्जले भने कलेजो प्रत्यारोपण सेवा सुरु गरिसकेका छन् ।

चितवनस्थित पुरानो मेडिकल कलेजमा विषेशज्ञ चिकित्सक डा. प्रविण जोशीको नेतृत्वमा कलेजो प्रत्यारोपणसम्बन्धी तयारी र व्यवस्थापन भैरहेको छ । मोफसलमा कलेजो प्रत्यारोपण गर्नु आफैंमा चुनौतीपूर्ण छ भन्ने कुरा बुझेको बताउँदै डा. जोशीले अनलाइनखबरसँग भने, ‘कलेजो प्रत्यारोपण गर्ने बिरामी समेत तय भैसकेको छ । कलेजो दिने र लिने दुवैको आवश्यक स्वास्थ्य जाँचलगायतका कामलाई पनि समानान्तर रूपमा अघि बढाइरहेका छौं ।’

२०७३ मंसिर २६ गते सरकारले अंग प्रत्यारोपण नियमित तथा निषेध नियमावली ल्याएर कलेजो लगायतका अंग प्रत्यारोपणको बाटो खोलेको थियो । नेपालमा हालसम्म ४ जनामा कलेजो प्रत्यारोपण गरिएको छ । तीमध्ये तीनवटा प्रत्यारोपणमा डा. जोशी पनि संलग्न थिए ।

२०७३ मंसिर २२ गते मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा नेपालमै पहिलोपटक कलेजो प्रत्यारोपण गरिएको थियो । यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा २०७६ वैशाख १८ गते कलेजोको प्रत्यारोपण गरिएको थियो ।

नेपालमा जम्मा १० जना मात्रै कलेजो प्रत्यारोपणसम्बन्धी विषेशज्ञ रहेको बताइन्छ । तिनै विशेषज्ञमध्येका एक डा. जोशी चितवनको पुरानो मेडिकल कलेजमा छन् र मोफसलमा पहिलोपटक कलेजो प्रत्यारोपण सेवा सुरु गर्ने तयारी गरिरहेका छन् । यसै सन्दर्भमा उनै डा. जोशीसँग गरिएको कुराकानी :

पुरानो मेडिकल कलेजमा प्रत्यारोपणको तयारी कस्तो छ ?

हामी आएपछि कलेजले प्रत्यारोपणसम्बन्धी अनुमति पनि लियो । हामीले निरन्तर काम गरिरहेका छौ । उपकरणहरु ल्याउने, आवश्यक तालिमहरु दिने, सेटअप तयार गर्ने, बिरामीहरुको स्क्रीनिङ गर्ने, मोटिभेट गर्ने काम भैरहेको छ । प्रत्यारोपणका लागि बिरामीहरुसँग पनि हामी निरन्तर टचमा छौं । सबैतिर काम समानान्तर ढंगबाट अघि बढिरहेको छ । सर्जरी गर्दा चाहिने केही सामान आउँदैछ ।

तपाईंहरुसँग जनशक्ति र अन्य प्राविधिक पक्ष पर्याप्त छ ?

प्रत्यारोपणका लागि करिब ३० देखि ४० जनाको टिम चाहिन्छ । प्रत्यारोपणमा कम्तीमा ४ जना सर्जन, ३ जना क्रिटिकल केयर, ३ जना एनेस्थेसियोलोजिष्ट, १० जना विषेश तालिमप्राप्त नर्सहरुको आवश्यकता पर्छ । अप्रेशनपछि पनि उत्ति नै संख्यामा दक्ष जनशक्ति आवश्यक पर्छ । हाम्रो अहिले भैरहेको टिम मात्रै पर्याप्त छैन । प्रत्यारोपणका बेलामा हामी विदेशबाट र देशभित्र रहेका अन्य केही विषेशज्ञहरु पनि बोलाउँछौं ।

कलेजो प्रत्यारोपण सेवा ठ्याक्कै कहिले सुरु गर्नु हुन्छ र कति खर्च लाग्छ ?

अप्रेशन गर्दा नै १० देखि ११ घण्टासम्म लाग्छ । त्यसअघि कुल सेटअप तयार गर्न ५ करोड रुपैयाँ खर्च लाग्छ । प्रत्यारोपणलाई छुट्टै नयाँ आईसीयु भएको राम्रो मानिन्छ । हामी अन्तिम चरणको तयारीमा छौं । अब चाँडै नै राजधानी बाहिर पहिलोपटक पुरानो मेडिकल कलेजमा कलेजोको प्रत्यारोपण हुन्छ । त्यो सुखद खबर यहाँहरुले सुन्न पाउनुहुन्छ । सकभर ३० लाखभन्दा कम शुल्कमा नै कलेजो प्रत्यारोपण गर्ने हाम्रो योजना छ । भारतमा लाग्ने खर्चभन्दा यहाँ लाग्ने खर्च आधा कम हुन्छ ।

तपाईंहरु जिवित व्यक्तिको कलेजो जिवित व्यक्तिमा प्रत्यारोपण गर्ने तयारीमा हुनुहुन्छ, यसको अर्को विकल्प हुन्छ कि हुँदैन ?

हो, हामी त्यसमा नै जाँदैछौं । मष्तिक मृत्यु भएकोबाट पनि गर्न सकिन्छ कि भनेर त्यो पनि हेरिरहेका छौं । यसबारे मन्त्रालयसँग पनि कुरा भैरहेको छ । फाइल अघि बढेको छ । तर हामीले जीवितबाट नै सुरु गर्छौं बाहिरको टिम बोलाएर नै काम गर्छौं । जीवित व्यक्तिबाट कलेजो लिएर अर्को जीवित व्यक्तिमा गर्ने प्रत्यारोपण अलि बढी कठिन र सम्वेदनशील हुन्छ । दुवैको ज्यानलाई जोगाउनुपर्ने र प्रत्यारोपण सफल बनाउनुपर्ने चुनौती हाम्रो माझ छ । हामी त्यसमा अति नै सचेत छौं ।

जीवित दाताको कलेजो लिएर प्रत्यारोपण गर्दा एकै पटक त्यही अस्पतालमा दुई वटा शल्यक्रिया गर्नुपर्छ । एउटा कक्षमा शल्यक्रिया गर्ने विज्ञको टोलीले दाताबाट कलेजो झिक्ने काम गर्छ । अर्को कक्षमा ग्रहणकर्ताको क्षतिग्रस्त कलेजो झिकिन्छ । यसपछि दाताको कलेजो ग्रहणकर्तामा प्रत्यारोपण गरिन्छ । एउटा वयस्क व्यक्तिमा कलेजो प्रत्यारोपण गराउँदा दिने व्यक्तिको ६५ प्रतिशत कलेजो निकाल्नु पर्ने हुन्छ । ठूलो ज्यान भएको व्यक्तिले सानो व्यक्तिलाई दिँदा कम प्रतिशत मात्रै दिए पुग्छ । कलेजो दाताले समेत शल्यक्रियापछि करिब एक सातासम्म अस्पतालमै बस्नुपर्छ ।

कलेजो प्रत्यारोपणपछि दाता र ग्रहणकर्ताले ध्यान दिनुपर्ने कुरा के हुन् ?

धेरैजसो कलेजो प्रत्यारोपण सफल हुने गर्छन् । प्रत्यारोपण गराएकाहरू केही महिनापछि निको भएर सामान्य जीवनमा फर्कन सक्छन् । दाता एक जना सगरमाथाको आधार शिविरमा समेत पुगेको सुनेको छु । करिब ८५ प्रतिशत प्रत्यारोपित कलेजो एक वर्षपछि पुनः पलाएर स्वाभाविक रूपमा काम गर्न थाल्छ । तर पनि सावधानीहरु भने अपनाउनुपर्दछ । जीवनशैली सरल हुनुपर्दछ ।

कहिलेकाहीँ पित्तनली क्षतिग्रस्त हुने, नयाँ कलेजोलाई शरीरको प्रतिरोधी प्रणालीले अस्वीकार गर्ने, संक्रमण र रक्तश्राव हुने, कलेजोको रक्त नलीमा रगत जम्ने, रोग प्रतिरोधक क्षमतालाई कम गर्ने जस्ता समस्या हुन सक्छन् । प्रत्यारोपण गराएकाहरूले चिकित्सकीय सुझावअनुसार नियमित औषधि सेवनसँगै अन्य सावधानी अपनाउनुपर्छ ।

कलेजो प्रत्यारोपण गर्दा विषेशज्ञहरुको चुस्त टिम चाहिन्छ, तर तपाईंहरु छरिएर रहनु भएको छ ? कारण के होला ?

पक्कै पनि कलेजो प्रत्यारोपण गर्दा विषेशज्ञ चिकित्सकहरुको टिम चाहिन्छ । एकल वा दुई जनाको मात्रै प्रयासले गर्दा यो सम्भव छैन । अहिलेसम्म नेपालमा प्रत्यारोपण गर्दा भारत वा तेस्रो देशबाट चिकित्सकहरु झिकाएर संयुक्त रुपमा प्रत्यारोपण गर्नुपर्ने अवस्था छ । एक त नेपालमा सीमित जनशक्ति छ भने अर्कोतिर त्यो पनि छरिएर रहने अवस्था पछिल्लो समयमा उत्पन्न भयो । यसो हुनु राम्रो हैन । सबैभन्दा राम्रो त सबै जना मिलेर एउटै छानामुनि अटाउँदा हुन्थ्यो तर परिस्थिति नेपालमा त्यस्तो बनेन । चितवन मेडिकल कलेजमा केही चिकित्सकहरु आउनु भयो । पुरानो मेडिकल कलेजमा हाम्रो टिम आएको छ । हाम्रो मुख्य समय नै टिम बनाउँदा नै खर्च हुन्छ ।

यस्तो कुरा जान्दा जान्दै तपाईं चितवन किन आउनुभयो ?

भक्तपुरमा काम गरिरहेका थियौं । त्यहाँ मिर्गौलाको प्रत्यारोपण बढी हुन्थ्यो । कलेजो प्रत्यारोपणका लागि लामो प्रयास गरियो । टिम पनि जुट्न सकेन । दुई-चार जना त्यहाँ पनि हुनुहुन्छ । पुरानो मेडिकल कलेजले इच्छा देखाएर चितवन आउने र काम गर्ने भन्ने कुरा भयो । चितवन पनि नेपालकै मध्य भागमा छ । यसको पोटेन्सियल भ्यालु सबैलाई थाहा छ । चितवनमा पनि यो काम गर्न सकिन्छ भनेर आयौं । अहिले चार-पाँच जनाको टिम छ । यो पर्याप्त छैन । यसलाई बढाउने काम गर्छौं । चितवनलाई मानव अंग प्रत्यारोपणको हव बनाउन सकिन्छ । भारतको दिल्लीमा कलेजो प्रत्यारोपण गर्ने ५० प्रतिशत अस्पतालहरू छन् । त्यसैले भारतमा प्रत्यारोपण सम्बन्धी ‘हब’ भनिन्छ ।

प्रत्यारोपण गर्ने कलेजो पाउन नै सहज छैन भनिन्छ । यो समस्याको समाधान कसरी गर्न सकिएला ?

यहाँ ठीक बिषय उठाउनुभयो । नेपालमा अहिले भैरहेको भनेको प्रत्यारोपणमा कलेजाको प्राप्ती र महंगो शुल्क मूल समस्या हुन् । शुल्कलाई कम गराउन या केही राहत दिन सरकारले नीतिगत स्तरबाट नै केही गर्नुपर्दछ । अर्को, कुरा कलेजो प्राप्ती कठिन छ । मिर्गौलाका बारेमा मानिसहरु सचेत पनि भैसके । धेरै केसहरु पनि भएका छन् । मानिसहरुलाई सहज लाग्छ ।

स्वास्थ्य