क्रिकेट रंगशालाको डीपीआर बन्यो, धुर्मसले मागे ‘अन्तिम सहयोग’

A generic square placeholder image with rounded corners in a figure.
क्रिकेट रंगशाला

६ कात्तिक, चितवन । धुर्मुस-सुन्तली फाउन्डेसनले चितवनमा बनाउने गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार भएको छ । 

तोकिएको समयभन्दा झण्डै दुई महिना ढिला गरी रंगशालाको डीपीआर तयार भएको हो ।

कृषि तथा वनविज्ञान विश्वविद्यालय रामपुरले भोगचलन गर्दै आएको २० विगाहा ६ कठ्ठा जग्गामा बन्ने क्रिकेट रंगशाला कमलको फूल आकारको हुनेछ । नेपाली मौलिकता झल्कने रंगशाला ३० हजार जना अट्ने क्षमताको हुनेछ ।

पहिला २५ हजार दर्शक मात्र अट्ने बनाउने भनिएकोमा ५ हजार क्षमता थपेर डीपीआर तयार गरिएको छ । रंगशालामा दुई भीआईपी प्याराफिटसमेत रहनेछन् ।

‘क्रिकेट स्टेडियमसँगै फुटबल मैदान, स्वीमिङ पुल र कभर्ड हल पनि निर्माण गरिने छ । ती सबै संरचनाको डीपीआर तयार भएको छ,’ फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) ले भने, ‘तर निर्माणको थालनी भने क्रिकेट स्टेडियमबाट हुनेछ ।’

क्रियटिभ डिजाइन आर्किटेक प्रा.लि.को नेतृत्वमा भारतीय र अमेरिकन कन्सल्टेन्सीको सहयोगमा डीपीआर तयार गरिएको हो । तिहारलगत्तै संरचना निर्माणको काम सुरु गर्ने र दुई वर्षभित्र सम्पन्न गर्ने योजना फाउन्डेशनले बनाएको छ । कट्टेलले भने, ‘निर्माणमा जानुअघिका प्रारम्भिक चरणका कामहरु भैसकेका छन् । डीपीआर तयार भइसकेकाले अब कामले गति लिन्छ ।’

चितवनमा रंगशालाको डीपीआर प्रस्तुतीकरणका लागि आएका धुर्मस-सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेलसँग अनलाइनखबरले गरेको कुराकानी-

रंगशाला निर्माणको घोषणादेखि  डीपीआरसम्म आइपुग्दा कस्तो अनुभूति गर्नुभएको छ ?

सुरुमा हामी निकै उत्साही थियौं । नेपाली क्रिकेटले एकदिवसीय मान्यता पायो । तर, खेल्ने मैदान थिएन । मूलपानी क्रिकेट मैदान बनाउन थालेको १७ वर्ष बित्यो तर खेल्ने अझै भएन । जेजति सम्पत्ति छ, त्यही कीर्तिपुर मैदान मात्रै हो । त्यो पनि भरपर्दो छैन । यस्तो अवस्थामा देशका खेलाडीका लागि र अन्तर्राष्ट्रिय प्रतियोगिता र प्रतिस्पर्धा गराउन पनि रंगशाला आवश्यक देख्यौं । र, जनताको साथको अपेक्षासहित घोषणा गर्‍यौं । भरतपुर महानगरपालिकाको समन्वयमा जग्गा पनि उपलब्ध भयो ।

रंगशाला नेपाली मौलिक संस्कृति झल्कने डिजाइनमा तयार भएको छ । कमलको फूल आकारको बन्ने छ । हेर्दा आकर्षक र विश्वमा कहीँ पनि नभएको डिजाइन छ

प्राप्त जग्गा बारबेर गर्नेदेखि शिलान्यासअघिका सबै काम गर्न थाल्यौं । त्यहीबीचमा जेठ १५ गते बार भत्काइएको घटनाले हामीलाई स्तब्ध बनायो । झण्डै ५३ दिन काम रोकियो । गर्ने कि नगर्ने, अन्योल भयो । सारा घरपरिवार, पेशा छाडेर हिँड्दा पनि किन यस्तो गरिन्छ ? भन्ने पनि आयो । रंगशाला निर्माणमा आर्थिक सहयोग गर्नेहरु बेखुस भए, भड्किए । तर, हामीले हिम्मत हारेनौं ।

डीपीआर गर्ने पैसा थिएन । कतैबाट पैसा जुट्ने अवस्था नहुँदा नहुँदै पनि काम अघि बढायौं र आज रंगशालाको डीपीआर तयार भएको छ । तोकिएको समयभन्दा केही ढिला गरी डीपीआर बनायौं । सुरुमा यहाँ घटना भएपछि हामीले पैसा पठाउन पनि सकेनौं । चाडवाड र बर्खायाम पनि लाग्यो । ढिलो भएकोमा क्षमा चाहान्छौं ।

नेपाली इन्जिनियरसँग ज्ञान भए पनि अनुभव थिएन । त्यसैले भारतका विभिन्न इञ्जिनियरहरुसँग मिलेर उहाँहरुले काम गर्नुभयो । केही समय होल्ड हुन पुग्यो । तर, पनि काम भयो ।

कस्तो बन्यो त डीपीआर ?

रंगशाला नेपाली मौलिक संस्कृति झल्कने डिजाइनमा तयार भएको छ । कमलको फूल आकारको बन्ने छ । हेर्दा आकर्षक र विश्वमा कहीँ पनि नभएको डिजाइन छ । ३० हजार क्षमताको बन्ने छ । भीआइपी प्याराफिट रहनेछन् । ती पनि मौलिक हुनेछन् ।

धेरै समय कमलको फूल आकार कसरी बनाउने भन्नेमै खर्चियो । टेक्निकल्ली गाह्रो काम रहेछ त्यो । फूलका पत्ताहरु बनाउन गाह्रो हुन्छ कि भन्ने भयो । धेरै चरणमा छलफल भयो । धेरै डिजाइन बनायौं ढाका आकारको पनि बनायौं । त्यसमा पनि समय खर्च भयो । आउटलुक चित्त बुझेन । फेरि अर्को डिजाइन बनाउन समय लाग्यो ।

अन्त्यमा, कमलको फूलको परिकल्पना अनुसारकै डिजाइन तयार भएको छ । तुलनात्मक हिसावमा यसमा खर्च बढी लाग्छ नै । तैपनि अनुमानित भन्दा कम २ अर्ब ५० करोडभित्र रंगशाला बनाउन सकिने अवस्था देखिएको छ । यसमा पर्याप्त पार्किङ सुविधा हुनेछ । फुटबल मैदान, स्वीमिङ पुल, कभर्ड हल, इन्डोर प्रशिक्षण गर्न मिल्ने व्यवस्था सबै हुनेछ । 

अर्थ