राष्ट्र बैंकको तथ्यांकले कति समेट्छ बजारको वास्तविक महंगी ?

A generic square placeholder image with rounded corners in a figure.
राष्ट्र बैंक

२० कात्तिक, काठमाडौं । साउन महिनामा काठमाडौंका सर्वसाधारणले एक धार्नी आलुलाई १५० रुपैयाँसम्म तिरे, चैत वैशाखमा यसको मूल्य ६०/७० रुपैयाँसम्म झर्छ । अरु बेला ४०/४५ रुपैयाँमै पाइने प्याजको भाउ दशैं-तिहारको बेलामा १५० रुपैयाँको हाराहारीमा पुग्छ । गोलभेँडाको त झन् के कुरा गर्ने, यो कहिले एक किलोको १०० रुपैयाँ पर्छ, कहिले १०० रुपैयाँमा ५ किलो पनि आउँछ ।

राष्ट्र बैंकको तथ्यांकले नै आलु, प्याज र गोलभेँडाले कूल तरकारीको करिब ४६ प्रतिशत हिस्सा रहने देखाउँछ । कुल वस्तु तथा सेवाको उपभोगमा यसले २.५३ प्रतिशत ओगट्छ । तर यसको भाउले आकाश छोइरहँदा राष्ट्र बैंकले निकाल्ने मासिक तथ्यांकमा भने खासै हलचल देखिँदैन । भदौ महिनाकै राष्ट्र बैंकको तथ्यांक हेर्ने हो भने पनि तरकारीको मूल्य ०.४४ प्रतिशत मात्रैले बढेको देखिन्छ ।

ही बेला आलु, प्याज र गोलभेँडाको मूल्यवृद्धि ज्यादै उच्च देखिन्छ । राष्ट्र बैंकको तथ्यांकलाई नीति निर्माताहरुले प्रयोग गर्ने भएपनि आम सर्वसाधारणले यसलाई सहजै पत्याउने अवस्था भने छैन ।

****

मूल्यवृद्धि गणनाका लागि राष्ट्र बैंकले विभिन्न शहरमा ६० वटा बजार केन्द्रहरु तोकेको छ, जुन प्रमुख शहरहरुका अतिरिक्त हिमाल, पहाड, तराई र काठमाडौं उपत्यकामा समेत छरिएका छन् । प्रत्येक बजार केन्द्रबाट राष्ट्र बैंकले ३ ओटा बिक्रेतालाई नमूनाको रुपमा छनोट गरेको हुन्छ । तोकिएका सबै ठाउँबाट प्रत्येक साता तोकिएका वस्तुहरुको बजार भाउबारे जानकारी लिइन्छ ।

यो प्रकृयामा बजार केन्द्रसँग नजिक पर्ने सामुदायिक विद्यालयका शिक्षकहरुलाई प्रत्यक्ष रुपमा सहभागी गराइन्छ । उनीहरुले बजारभाउ संकलन गरेर राष्ट्र बैंकको इन्टरनेटमा आधारित सिस्टममा अपलोड गर्छन् । त्यसरी अपलोड गर्दा हुनसक्ने मानवीय त्रुटीलाई हटाउन एउटा शिक्षकले अपलोड गर्ने र अर्को शिक्षकले भेरिफाइ गर्नुपर्ने प्रणाली समेत छ ।

शिक्षकहरुले त्यसरी पठाउने मूल्यहरु केन्द्रीय सूचना प्रणालीमा आउने व्यवस्था छ । प्राप्त भएका मूल्यहरुलाई ठाउँअनुसार तोकिएको भारका आधारमा ज्यामितीय मध्यक निकालेर कुनै खास वस्तुको औषत मूल्य निकालिन्छ । त्यस्तै तोकिएको कमोडिटीको भारको आधारमा तोकिएको क्षेत्रको र तोकिएको क्षेत्रको भारको आधारमा औषत मुद्रास्फीति निकाल्ने व्यवस्था गरिएको छ ।

यहाँ एउटा उदाहरण हेरौं ।

मानौं ६० ओटा बजार केन्द्रमध्ये कुनै एउटा वस्तुको भाउ १० ओटा बजार केन्द्रबाट मात्रै संकलन गरिन्छ । १० ओटा बजार केन्द्रले प्रत्येकले ३/३ ओटा बिक्रेताबाट संकलन गरेको तथ्यांकलाई इन्टरनेटमा आधारित सिस्टममा अपलोड गरिदिन्छ । सिस्टमले एउटै बजार केन्द्रबाट संकलित फरक-फरक मूल्यबाट त्यसको ज्यामितीय मध्यक निकाल्छ । त्यसपछि स्थानका लागि दिइएको भारका आधारमा स्वचालित रुपमा सम्बन्धित वस्तुको देशभरको औषत मूल्यवृद्धि निकालिन्छ ।

यदि काठमाडौंको बजार केन्द्रलाई आलुको मागको हिसाबले ५० प्रतिशत भार दिइएको छ भने काठमाडौंले आलुको भाउ औषत १० प्रतिशतले बढेकोे भए त्यसमा काठमाडौंको हिस्सा ५ प्रतिशत बिन्दुले मात्रै हुन्छ । त्यस्तै काठमाडौं बाहिरका बजार केन्द्रहरुमा मूल्यवृद्धि २ प्रतिशत मात्रै रहेछ भने ज्यामितीय मध्यकको सूत्रद्वारा काठमाडौं र काउमाडौं बाहिरको औषत् मूल्यवृद्धिदर ४.४७ प्रतिशत हुन आउँछ ।

यहाँ कुल बजार मागमा आलुको हिस्सा १.५१ रहेको अवस्थामा कुल बजार मूल्यमा आलुको हिस्सा ०.०११५८४.४७=०.०६७४९७ हुन्छ । अर्थात् काठमाडौंमा आलुको भाउ १० प्रतिशतले बढ्दा कूल मूल्यवृद्धिमा ०.०६७४९७ प्रतिशत प्रभाव पर्छ ।

****

अहिले नेपाल राष्ट्र बैंकले उपभोक्ता मूल्यवृद्धि निकाल्नको लागि जम्मा २२ समूहका ४९६ ओटा वस्तु तथा सेवाको मूल्यको नमूना संकलन गर्छ । त्यसरी संकलन हुने वस्तुको स्थान, भार, समूहको मूल्यवृद्धि निकाल्दा समूहमा सम्बन्धित वस्तुको भार तथा औषत मुद्रास्फीति निकाल्दा प्रत्येक समूहको भारचाहिँ पूर्वनिर्धारित नै हुन्छ ।

स्तो वस्तु तथा सेवाको छनोट र त्यसमा दिइने भारचाहिँ उपभोक्ता सर्भेक्षणको सहयोगले तय गरिएको हुन्छ । नेपाल राष्ट्र बैंकले २०१४ मा गरेको उपभोक्ता सर्भेक्षणबाट त्यो भार तय गरेको थियो र सोही आधारमा अहिलेसम्म पनि मूल्यवृद्धिको गणना हुन्छ ।

नेपाल राष्ट्र बैंकले उपभोक्ता सर्भेक्षणबाट तय गरेका २२ समूहका वस्तु तथा सेवाहरुमा खाद्यान्न, दाल, तरकारी, माछा मासु, दूध र दूधजन्य वस्तुहरु, घिउतेल, फलफूल, चिनी र चिनीजन्य पदार्थ, मसलाहरु, गैरअल्कोहलिक पेय पदार्थ, अल्कोहल, सुर्ति, होटल, कपडा तथा जुत्ताहरु, घरायसी उपयोगिताका वस्तु, फर्निचर तथा घरायसी सामान, स्वास्थ्य, यातायात, सञ्चार, मनोरञ्जन, शिक्षा र अन्य समूहहरु पर्दछन् । यी प्रत्येक समूह र प्रत्येक वस्तुलाई जम्मा १०० मानी भार तोकिएको छ । त्यस्तो भार एउटा समूहमा पर्ने सबै वस्तुहरु जोड्दा समूहको भारसँग बराबर हुनेगरी तय गरिएको छ ।

राष्ट्र बैंकले हाल खाद्य पदार्थको मूल्यलाई ४३.९ र गैरखाद्यतर्फकोलाई ५६.१ प्रतिशतको अंकभार दिएर तथ्यांक निकाल्छ ।

अर्थ