आर्यनको फेरिएको लुक्स

A generic square placeholder image with rounded corners in a figure.
आर्यनको फेरिएको लुक्स

चकलेटी नायकको रुपमा चिनिन्छन्, आर्यन सिग्देल । लभर ब्वाईको भूमिकामा अत्याधिक रुचाइएका उनलाई एक समय बक्सअफिसका हिट मेशिन भनिथ्यो । उनको नामैले फिल्म चल्थ्यो । हरेक निर्देशक/निर्माताको रोजाईमा उनी थिए । लभस्टोरी फिल्ममा त उनकै हालीमुहाली थियो । अभिनयमा पनि अब्बल मानिने उनले करीब एक दशक करिअर फर्केर हेर्नु परेन ।

 

तर, समय सधैं एकनाश कहाँ रहन्छ र ! अभिनेता आमिर खानले एक अन्तर्वार्तामा भनेका थिए, ‘कलाकारको स्टारडम सधैं रहँदैन ।’ यो कुरा अहिले आर्यनको हकमा लागू हुन्छ । कुनै समय पोस्टरमा टाउको राखेको भरमा फिल्म हिट हुने नायकको केही वर्षयता हरेक फिल्मले हलमा पानी भन्न पाएका छैनन् । ‘कायरा, रुद्रप्रिया, हजार जुनीसम्म, चच हुईं’ यसका उदाहरण हुन् ।

 

स्टारडम कमजोर बने पनि आर्यन कामविहीन भने भएका छैनन् । उनको हातमा फिल्मको लाइनअप लामै छ । हालै फिल्म ‘डिसेम्बर फल्स’ को छायांकन सकाएका उनी जेठ पहिलो साताबाट कोरियोग्राफर कविराज गहतराजको निर्देशनमा बन्न लागेको फिल्म ‘मिरर’ मा काम गर्ने तयारीमा छन् । उनले ‘सेल्फी किङ’ फेम निर्देशक विशाल सापकोटाको फिल्ममा पनि काम गर्दैछन् ।

 

फिल्मको पात्रअनुसार आफूलाई ढाल्न पनि निकै मिहिनेत गर्ने उनले ‘हजार जुनीसम्म’ मा पाको उमेरको पुरुषको भूमिका निर्वाह गर्न आफ्नो गेटअप नै परिवर्तन गरेका थिए । त्यस्तै, ‘डिसेम्बर फल्स’ का लागि ‘कबीर सिंह’ वाला लुक्स बनाएका उनी ‘मिरर’ मा पनि यही अवतारमा देखिने बताइएको छ । फिल्मका लागि पालेको कपाल र दाह्रीका कारण आर्यनको लुक्स नै फेरिएको छ । 

कला