घानाका एक शिक्षकले कम्प्युटरविना नै कम्प्युटर प्रविधि पढाएको विषय अनलाइन सञ्चार माध्यमहरुमा निकै चर्चिक बनेको  छ ।

घाना कुमासीका ती शिक्षकले कालोपाटीमा निकै मिहिनेतपूर्वक माइक्रोसफ्ट वर्ड प्रोग्रामको चित्र बनाएका छन् । ‘घानाको स्कुलमा  सूचना प्रविधिको पढाइ निकै रमाइलो भयो’ उनले फेसबुकमा फोटो पोस्ट गरेर भनेका छन् ।

यी फोटोहरु हजारौं पटक सेयर भएपछि माइक्रोसफ्टले ती व्यक्तिलाई कम्प्युटर सामग्रीहरु प्रदान गरेको छ ।

ती शिक्षकको नाम रिचार्ड अपिया ओकोटो रहेको अफ्रिकी सञ्चार माध्यम क्वार्जले जनाएको छ ।  ओउरा क्वाजो उपनाम रहेका ती व्यक्तिले फेसबुकमा भनेका छन् ‘म मेरा विद्यार्थीहरुलाई धेरै माया गर्छु, त्यसैले मैले जानेका कुरा उनीहरुले बुझुन् भन्ने चाहन्छु ।’

क्वार्जका अनुसार ओकाटोले पढाउने स्कुलमा सन् २०११ देखि कम्प्युटर छैन । तर यहाँका विद्यार्थीहरुले सूचना प्रविधि विषय उतीर्ण गर्नका लागि यो पढ्नैपर्ने बाध्यता छ ।

फेब्रुअरीको मध्यतिर सामाजिक सञ्जालमा यो तस्वीर भाइरल भएपछि धेरैले ती  शिक्षकको पेशाप्रतिको लगावको प्रशंसा गरेका छन् ।

‘यस्तो चित्र बनाएको मैले पहिलोपटक बनाएको होइन, म कक्षाकोठामा भएको बेला जहिले पनि बनाउनुपर्छ’ ओकोटोले क्वार्जसँग भनेका छन् ।

‘म फेसबुकमा फोटो पोस्ट गर्न मन पराउँछु, अरुजस्तै यो फोटो पनि सेयर गर्नुपर्छ भन्ने लाग्यो’ उनले भनेका छन्  ‘तर मलाइ थाहा थिएन यसले मानिसहरुको यसरी ध्यान आकर्षित गर्छ भनेर ।’