चलचित्र ‘रेश ३’ भारतीय बक्स अफिसमा पूर्ण रुपमा असफल भएपछि नायक सलमान खानका फ्यानहरु निराश भएका छन् । गतबर्षको इदमा ‘ट्यूबलाइट’ र यो बर्षको इदमा ‘रेश ३’ असफल भएपछि सलमानको क्रेज घट्न थालेको विश्लेषण गरिएको छ । तर, सलमानले गलत चलचित्र रोज्दा यस्तो परिणाम आएको टिप्पणी पनि गरिन्छ ।

अब, उनै सलमान खान ‘दबंग ३’ को तयारीमा लागेका छन् । आउँदो बर्षको सुरुवातमै यो चलचित्र रिलिज हुने चर्चा छ । यसअगाडि ‘दबंग र दबंग २’ हिट भैसकेका छन् भने यही चलचित्रबाट सलमान चुलबुल पाण्डेको रुपमा पनि परिचित भएका थिए ।

यो चलचित्रमा नायिका सोनाक्षी सिन्हाको पनि मुख्य भूमिका रहनेछ । चलचित्रलाई प्रभुदेवाले निर्देशन गर्ने बताइएको छ । सलमानले ‘दबंग ३’मा काम गर्ने तयारी गरिरहेको समयमा उनका फ्यानले भने यसको विरोध गरेका छन् । ट्विटरमा ‘हामी दबंग ३ चाहदैनौ’ भन्दै उनीहरुले ट्विट नै गरेका थिए । जुन, भारतमा ट्रेन्डिङमा समेत परेको थियो ।

सलमानले अब एक्सन चलचित्र भन्दा पनि राम्रो कथावस्तु छानेर काम गर्नुपर्ने फ्यानहरुको तर्क छ । तर, सलमान भने आफ्नो लयबाट बाहिर निस्कने मुडमा छैनन् ।