अभिषेकसिंह थापासँग ललितपुरको जाउलाखेलमा भेट भयो । धान दिवस अर्थात् असार १५ मा भेट हुँदा थापाले दाह्री पाल्न थालेको २७ महिना २८ दिन भएको थियो । उनको दाह्रीको लम्बाइ १ फिट ८ इन्च छ ।

दाह्री पालेरमात्रै भएन । स्याहार–सम्भार गनुपर्छ । दाह्री स्याहार–सम्भार गर्न मासिक खर्च कति होला ? ‘दाह्री स्याहार–सम्भार गर्न बियर्ड कन्डिसनर, बियर्ड स्पाम्पु, बियर्ड वायल, बियर्ड कम र बियर्ड वायक्स (दाह्री डिजाइन गर्ने) चाहिन्छ । ती सामान नेपालमा पाउन गाह्रो हुन्छ,’ उनले जानकारी गराए, ‘अमेरिका र थाइल्यान्डबाट मगाउने गरेको छु ।

३० एमएललाई १७ देखि १८ सयसम्म पर्छ । भारतमा अलि सस्तो परे पनि स्तरीय हुँदैनन् ।’ दैनिक बिहान बेलुका दाह्री सफा गर्न ३० मिनेट लाग्छ । बिहान उठेर स्याम्पुले धोएपछि १० मिनेट बियर्ड वायलले मसाज गर्नुपर्छ । दाह्री छोटो भएकालाई कम समय लाग्छ ।

दाह्रीका लागि मासिक १४ हजार

दाह्री डेडलक गर्ने पहिलो नेपाली उनलाई रहरले पालेको दाह्रीले असजिलो गराएको छ । भन्छन्, ‘सुत्दा समस्या हुन्छ ।’ असजिलो भए पनि मासिक १३ देखि १४ हजार रुपैयाँ खर्चेर दाह्री पालेकै छन् । उनले थपे, ‘कुनै–कुनै महिना त्यति खर्च हुँदैन ।’

नेपालकै लामो दाह्रीवाल

राष्ट्रिय विभूति अमरसिंह थापाका छैटौं पुस्ता हुन्– अभिषेकसिंह थापा । थापालाई युवापुस्ताका सबैभन्दा लामो दाह्रीवाल भनिन्छ । ‘केही समयअघि सर्वेक्षण गरेका थियौं,’ उनले थपे, ‘केयुमा अध्ययनरत आकाश पाण्डेको दाह्री पनि लामो थियो । तर, उहाँको मेरोभन्दा ७ सेन्टिमिटर छोटो थियो । उहाँले दाह्री काटिसक्नुभएको छ ।’ आफू जिजुबुवा अमरसिंह थापापट्टि गएको उनको भनाइ छ । उनको बुवा, दाइको पनि थापाको जस्तो दाह्री–जुँगा छैन । ‘२७ महिना २८ दिनमा यति लामो दाह्री कमै नेपालीको हुने उनको भनाइ छ । पञ्जावी र शिख समुदायमा चाहिँ हुन सक्छ ।

दाह्री ग्याङमा १ लाख ४ हजार
दाह्री पालेर छुट्टै पहिचान बनाएका अभिषेकसिंह थापा दाह्री ग्याङ (दाह्री पाल्नेको समूह) का संस्थापकमध्ये एक हुन् । दाह्री ग्याङमा १ लाख ४ हजार सदस्य छन् । फेसबुक पेजमा २९ हजारजति छन् भने युट्युब हेर्ने कमै छन् ।

दाह्री ग्याङमा हामीलाई सहभागी किन नगराएको भनेर महिला सोधिरहेपछि ‘दाह्री ग्याङ नेपाली बियर्ड लभर्स’ भन्ने पेजसमेत खोलिएको छ ।

कोरिया, अस्ट्रेलिया, दुबई र कतारमा दाह्री ग्याङ विस्तार भइसकेको छ । अमेरिका र मलेसिया पनि विस्तारक्रममा रहेको छ ।

निःशुल्क सदस्यता वितरण

दाह्री ग्याङको सदस्य बन्न १८ वर्ष नाघेको हुनुपर्नेछ । १८ वर्षदेखि दाह्री–जुँगा आउने भएकाले त्यस्तो प्रावधान राखिएको हो । तर, १६÷१७ वर्षका पनि दाह्री ग्याङका सदस्य छन् ।
आठ÷महिनादेखि दाह्री ग्याङको नयाँ सदस्य थपिएका छैनन् । सदस्य बन्न दुई प्रश्नको जवाफ दिनुपर्ने हुन्छ । दाह्री ग्याङमा किन सहभागी हुन चाहनुहुन्छ भनेर सोधिन्छ ? र, दाह्री ग्याङबाट के आशा राख्नुभएको छ भनेर सोधिएका प्रश्नको चित्तबुझ्दो जवाफ दिएमात्रै सदस्य बन्न सकिन्छ । सदस्य बन्न पैसा पर्दैन ।

अहिलेसम्म महेन्द्रनगर, धनगढी, दाङ, बुटवल, पोखरा, तनहुँ, धादिङ, चितवन, हेटौंडा, लेटाङ, विराटनगर (मोरङ), इटहरी (सुनसरी), काँकडभिट्टा (झापा) मा दाह्री ग्याङ विस्तार भएको छ ।

महिला दाह्रीवाला
क्यानडामा बसोवास गर्दै आएकी पञ्जावकी दाह्रीवाली महिला पनि दाह्री ग्याङसँग सम्पर्कमा छन् । उनको दाह्री–जुँगा पुरुषकै जस्तो छ ।
दाह्री नभएका पनि सदस्य
क्याप्टेन विजय लामा दाह्री ग्याङका सदस्य हुन् । सामाजिक काममा समेत परिचय बनाएकाले क्याप्टेन लामालाई सदस्यता दिइएको हो ।

दाह्री ग्याङको बैठक

प्रत्येक महिनाको अन्तिम शनिबार काठमाडौंको वसन्तपुर डबलीमा बैठक बस्ने नियम बनाइएको । नियमअनुसार बैठक बस्ने गरेको छ । बैठक अनौपचारिक हुन्छ । महिनाभरि नयाँ सदस्य थपिएका छन् भने परिचय गराइन्छ ।

प्रत्येक बैठकमा विभिन्न संघ–संस्थासँग सम्बन्धित व्यक्ति पाहुनाका रूपमा बोलाइन्छ । अन्तक्र्रिया गरिन्छ । बैठकमा पैसा उठाइन्छ । दाह्री ग्याङका विद्यार्थीलाई मासिक १० र जागिरेलाई ५० रुपैयाँ तोकिएको छ । त्योभन्दा माथि जति पनि दिँदा हुन्छ । एक बैठकमा तीन हजार रुपैयाँसम्म संकलन हुन्छ । रुपैयाँ नहुनेलाई अनिवार्य छैन ।

संस्कृतिविद्बाट दाह्री ग्याङ नामकरण

‘संस्कृतिविद् सत्यमोहन जोशको घर पुगेका थियौं । हामीभन्दा अघि पनि जोशीलाई भेट्न पुगेकाले पनि दाह्री पालेका रहेछन्,’ ३१ वर्षीय थापाले भने, ‘भीमसेन थापाको सेतो दरबारसम्बन्धी दुई÷तीनवटा फोटो लिएर त्यसबारे जानकारी लिन पुग्दा जोशी सरले भन्नुभयो– मलाई भेट्न आज जति पनि आए सबैले दाह्री पालेका छन् । दाह्री ग्याङ नै हो कि के हो ?’ संस्कृतिविद् जोशीले त्यसो भनेको भोलिपल्ट ‘दाह्री ग्याङ’ स्थापना भएको थियो । यो संवत् २०७३ फागुन २६ गतेको कुरा हो ।

दाह्री ग्याङको समाजसेवा
(क) सिमेन्टेड घर
दाह्री ग्याङले पथरी मोरङका विष्णु रसाइलीलाई घर बनाइदिए । शारीरिक रूपमा अशक्त रसाइलीका लागि चार लाख ७ हजारमा सिमेन्टेड घर बनाइदिएका हुन् । ‘घरमात्रै बनाइदिएर भएन,’ उनले भने, ‘निःशुल्क बिजुलीबत्ती र स्थानीय फर्निचरवालालाई सहयोग मागेर पलङ उपलब्ध गरायौं । च्यारिटी शो गरेर घर बनाइदिँदा रसाइलीभन्दा हामी धेरै खुसी भएका थियौं ।’
(ख) अस्पतालमा बन्धकको उद्धार
कल्पना रोक्का बुटवलको अस्पतालमा बन्धकजस्तै थिइन् । उपचार खर्च बुझाउन नसक्दा थापा डिस्चार्ज हुन सकेकी थिइनन् । मिर्गौलीरोगी उनलाई डिस्चार्ज गर्न सहोदर दाइ भेडा, च्याङ्ग्रा बेचेर घरबाट अस्पताल जाँदै गर्दा बस दुर्घटनामा बिते ।

दुःखद खबर थाहा पाएपछि दाह्री ग्याङले कल्पना रोक्का अभियान चलायो । उसले १० रुपैयाँ संकलन अभियान थाल्यो । अस्पतालमा १ लाख रुपैयाँ बुझाउन बाँकी थियो । ७८ हजार बोकेर दाह्री ग्याङ अस्पताल पुग्यो । ‘दाह्री ग्याङले हामीसँग ७८ हजार रुपैयाँ बाँकी छ, बाँकी डिस्काउन्ट गरिदिनुपर्यो भनेर अनुरोध गर्यौं,’ उनले खुसी व्यक्त गरे, ‘अस्पतालले ३० हजार डिस्काउन्ट गरिदियो । डिस्चार्ज गरेर कल्पनालाई घरसम्म पुर्याइदियौं ।’


(ग) बाढीपीडितलाई राहत
१५ दिन विराटनगर बसेर दाह्री समूहले बाढीपीडितलाई राहत वितरण गरेको थियो । उसले स्वास्थ्य शिविर सञ्चालनमात्रै होइन, औषधिसमेत वितरण गरेको थियो ।
(घ) वीर अस्पतालमा चित्र
वीर अस्पताल पुग्नेले अस्पतालको भित्तामा चित्र देख्नेछन् । चित्र दाह्री ग्याङकै सुमन वाग्लेले निःशुल्क कोरिदिएका हुन् । स्वास्थ्यसम्बन्धी जनचेतना जगाउन चित्र कोरिएको दाह्री ग्याङको बुझाइ छ ।
(ङ) क्यान्सररोगीलाई ‘बेड वार्मर’
अनुसन्धानका लागि दाह्री ग्याङ भक्तपुरको क्यान्सर अस्पताल पुगेको थियो । उसले त्यहाँ रहेका क्यान्सर रोगी (लास्ट स्टेज) लाई के खाने, के लगाउने, कहाँ जाने, कसैलाई भेट्ने मन छ कि भनेर सोधे । रोगीहरूले जाडोले सताएको सुनाए । लगत्तै १० क्यान्सर रोगीलाई बेड वार्मर (तातो हुने बेड) उपलब्ध गरायो । त्यो पुनः प्रयोग गर्न सकिने थियो । बेड वार्मरसहित रक्तचाप नाप्ने, टीभी र स्पीकरसमेत दाह्री ग्याङले उपलब्ध गराएको थियो ।


(च) ब्लड डाटाबेस
दाह्री ग्याङले आफ्नै समूहका लागि ‘ब्लड डाटाबेस’ निर्माण गरेको छ । समूहभित्रका लागि रगत चाहिँदा सजिलै उपलब्ध गराउन सकियोस् भनेर निर्मित ‘ब्लड डाटाबेस’ देखेर थुप्रै अस्पतालले सहकार्यका लागि अनुरोध गरेका छन् । अस्पतालले अनुरोध गरेपछि दाह्री ग्याङ सकारात्मक छन् । सहकार्य गर्दा अस्पतालले दाह्री ग्याङको ‘एप्स’ प्रयोग गर्न सक्छन् । प्रयोग गरेबापत निश्चित शुल्क दिनुपर्ने हुन्छ । त्यो शुल्क दाह्री ग्याङले सामाजिक काममा लगाउनेछ ।

(छ) जेब्राक्रस निर्माण
दाह्री ग्याङले झापा, बुटवल, पोखरा, धनगढी, विराटनरमा जेब्राक्रस बनाएको छ ।

उदाहरणीय र सराहनीय काम गरेका दाह्री ग्याङ दर्ता गरेर सञ्चालन गर्ने छलफल नभएको होइन । दर्ता भएपछि स्वार्थ जोडिएला भने अहिले नै दर्ता नगर्ने निष्कर्षमा पुगेको छ । दाह्री ग्याङको लोभलाग्दो काम देखेर लाखौंको ‘अफर’ आए पनि अस्वीकार गरेको अभिषेकसिंह थापाले सुनाए । थापाले नेपालमा पहिलोपटक बियर्ड मोडलिङ सुरु गरिसकेका छन् । उनले दाह्री पाल्नेहरूलाई र्याम्प हिँडाइसकेका छन् ।

समाजशास्त्रका विद्यार्थी उनले एनजीओ, आईएनजीओमा काम गरेका छन् । हिजोआज पनि ट्रेकिङ गर्छन् । एकताका लेखापाल, फुटबल खेलाडी, पत्रपत्रिकामा लेख्ने, साइक्लिङको राष्ट्रिय खेलाडी, गायन र प्राथमिक उपचारसम्बन्धी प्रशिक्षकको भूमिका निर्वाह गरिसकेका उनले हिजोआज ‘इभेन्ट म्यानेजमेन्ट’ लाई प्राथमिकता दिएका छन् ।

दाह्री पाल्ने सहनशील, जिम्मेवारी वहन गर्न सक्ने, धैर्य हुन्छन् भनेर महिलाले प्रशंसा गर्ने गरेका छन् । तर, उनीहरूलाई कतिपय अवस्थामा दुव्र्यवहार पनि गरिएको छ । ‘सुनसरीको इटहरीमा राति सात बजे हिँड्दै थियौं । इटहरीकै भाइसहित चारजना थियौं,’ उनले दुःखेसो पोखे, ‘सफारी चढ्न लागेका थियौं । सिभिल ड्रेसधारी सुरक्षाकर्मीले रोके । कहाँबाट आएको ? किन आएको ? यस्तो हुलिया के हो ? दादागिरी गर्न आएको भनेर दुव्र्यवहार गरे ।’

‘त्यतिबेला दाह्री पाल्नेजति सबै खराब हुँदारहेछन् भनेर सोचिँदोरहेछ भन्ठानें,’ उनले प्रस्ट्याए, ‘मन सफा हुनुपर्छ । दाह्री पाल्दैमा जोकोही खराब हुँदैनन् ।’
दाह्री ग्याङले निकट भविष्यमा सामाजिक कामका नेपाली ‘युथ कनेक्ट’ गर्दै ‘नेसनल मुभमेन्ट’ गर्न राष्ट्रियस्तरको आमसभा गर्दै छ ।