विश्वभर बढ्दो व्यस्तता र आधुनिकीकरणका कारण महिलाहरुले शिशुहरुलाई स्तनपान नगराउने वा गराउन नभ्याउने समस्या देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा धेरैजसो देशमा स्तनपानको अवस्था सन्तोषजनक छैन । चिकित्सकका अनुसार आमाको पहिलो दूध बच्चाका लागि अमृत समान हुन्छ जसले बच्चामा धेरै रोगहरूसँग लड्नसक्ने प्रतिरोधात्मक क्षमता बढाउँछ । आमाको दूधमा रोगाणु नाशक तत्वहरू हुन्छन् । नेपालका कतिपय स्थानमा समेत स्तनपानबारे चेतना नहुँदा बच्चा जन्मेपछि आउने पहिलो दूधलाई फाल्ने गरेको पनि पाइन्छ । यसैबीच हरेक आमालाई आफ्ना शिशुलाई नियमित रुपमा ६ महिनासम्म स्तनपान गराउन प्रेरित गराउने उद्देश्यले आजबाट नेपालसहित विश्वभर स्तनपान सप्ताह मनाइँदैछ । विश्वस्वास्थ्य संगठन र युनिसेफलले विश्वभर अगस्ट १ देखि ७ सम्म स्तनपान सप्ताह मनाउन गरेको आग्रह अनुसार विश्वभर यो दिवस सप्ताहव्यापी रुपमा मनाउने गरिन्छ । ‘स्तनपान स् जीवनको आधार’ भन्ने नारासहित साताव्यापी रूपमा नेपालमा पनि सरोकारवाला निकायले विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । बालबालिकाको जिवन विकासका लागि आवश्यक पर्ने पौष्टिक तत्व आमाको दुधबाटमात्र पाइने गाइभैसीको दुध तथा बजारमा पाइने बट्टाको दुधबाट नपाइने भएकाले यस सम्बन्धि सचेतना जगाउन सप्ताह फलदायी हुने सरोकारवाला बताउँछन् ।