काठमाडौं – ऋण लिएपछि ऋण तिर्नुपर्ने सामान्य प्रक्रिया नै हो । कारणबस ऋण तिर्ने नसकेमा ऋण दिनेले आक्कलझुक्कल ऋण मिनाहा पनि गरिदिन्छन् । राजधानीको एक डेरामा बस्ने चारजनाको परिवार पनि त्यही ऋण तिर्ने चक्करमा छन् । ऋण तिर्नैका लागि काम गरिरहेका उनीहरूको निचोड चाहीं एउटै छ, ‘सकेको तिरौंला, नत्र फिरिमा’।

राजधानीको अनामनगरस्थित मण्डला थिएटरमा मञ्चन हुन लागेको नाटक ‘सकेको तिरांैला, नत्र फिरिमा’मा कलाकारले अभिनयमार्फत आर्थिक भारको चपेटामा परेका श्रमिक वर्गको समस्या र आवाजलाई बुलन्द बनाउने प्रयास गरेका छन्।

नाटकले चार परिवारको कथा प्रस्तुत गरेको छ ।  भिन्न समुदायका यो परिवारका पुरुष सदस्य बाहिरै काम गर्छन् । तर उनीहरूका श्रीमती भने  घरायसी काममै व्यस्त छन् । यो चारजनाको परिवारले आफ्नो समस्याको मात्र प्रतिनिधित्व गर्दैनन्, आफू जस्तै श्रमिक जिन्दगी बिताइरहेका नेपाली समुदायको पनि प्रतिनिधित्व गर्दछन् । सरिता गिरी, अनुपम, शर्मा, विजय बराल, प्रमिला खनाल र उमेश तामाङको अभिनय रहने यो नाटकका लागि कलाकारहरू यतिबेला रिहर्सलमा व्यस्त छन् ।नाटककै लागि कलाकारले मण्डला थिएटरमा डेरा झल्कने कोठासँगै डेराको झ्यालबाट बाहिर नियाल्दा देखिने विशाल काठमाडौंको नमुना तयार पारेका छन् । उनीहरुले कोठालाई ज्यालादारीमा काम गर्ने श्रमिकको कोठा जस्तै देखिने गरी सजावट गरेका छन्।

नाटकमा नयाँ विवाहित जोडीको कथा देखाइनेछ । झन्डै एक घण्टा २० मिनेटको यो नाटकको परिवेश साँझदेखि सुरु भएर बिहानी समयमा सकिनेछ।

नाटकका अनुवादक तथा निर्देशक विकास जोशीका अनुसार नाटकले समाजका हरेक विषयलाई व्यंग्यात्मक रुपमा प्रस्तुत गर्नेछ । ‘नेपालमा नियमित रुपमा फेरिरहने सरकार र उनीहरूको निर्णय तथा व्यवहारले निम्न वर्गीय समुदायमा कस्तो असर पारेको छ भन्ने विषय नाटकमा उठान गरेका छौं,’ जोशीले नागरिकसँग भने, ‘सरकारले जनतालाई समृद्धिको सपना बाँड्छ । तर जनताले त्यो समृद्धिको सपना कस्तो छ भन्ने अनुभूति गर्न पाउँदैनन् । त्यही समृद्धि पूरा गर्न कर र महंगीको मात्रा बढ्छ । जसको प्रत्यक्ष असर निम्न वर्गीय समुदायलाई नै पर्छ । यही विषय नाटकमा छन्।’

एक वर्ष अघि भारतको थिएटर ओलम्पिकमा नाटक देखाउन जाँदा विकासले त्यहाँको एक पुस्तकालयमा इटालियन कलाकार तथा सन् १९९७ को नोबेल साहित्य पुरस्कार विजेता डारियो फोको पुस्तक ‘कान्ट पे वान्ट पे’ पढेका रहेछन् । ‘त्यो पुस्तक पढ्दा मलाई रमाइलो लाग्यो । पुस्तकको विषय र नेपालको वर्तमान परिवेश मिल्यो,’ उनले सम्झिए, ‘त्यही बेलादेखि नै मेरो मनमा नाटकलाई अनुवाद गरेर मञ्चन गर्नुपर्छ भन्ने लागेको थियो । जुन सोचले अहिले मूर्त रुप पाएको छ ।’ विकासका अनुसार नाटकमा नयाँ विवाहित जोडीको कथा देखाइनेछ । झन्डै एक घण्टा २० मिनेटको यो नाटकको परिवेश साँझदेखि सुरु भएर विहानी समयमा सकिनेछ।

विकासको बुझाइमा नाटकको परिवेश र नेपालको अवस्था मिल्ने कारण पनि छ । ‘काठमाडौं उपत्यकाका बासिन्दालाई सरकारले मेलम्ची सपना देखाएको वर्षौं भइसक्यो । तर हामी मेलम्ची होइन, बाटोमा ढल बगेको देखिरहेका छौं । हामी प्रतिक्रिया जनाउँदैनौं । जे छ चलिरहेको छ भन्ने मनस्थितिमा छौ,’ विकास भन्छन्, ‘त्यही कारणले पनि सरकारलाई सजिलो भएको छ । दैनिक जीवनको अत्यावश्यकीय कुराको भाउ बढेको छ । तर पनि हामी अबुझ जस्तै सबै समस्यालाई स्वीकारिरहेका छौं । हामीले नाटकमार्फत् सपना बाँडेर मात्र हुँदैन । त्यो यथार्थमा परिणत हुनुपर्छ भनेर देखाउन खोजेका छौं।’

नाटककी प्रमुख कलाकार सरिता गिरीले आफूले दैनिक जीवनमा भोगिरहेको कथालाई नाटकमा प्रस्तुत गरिएको बताइन् । ‘म घरबाट स्कुटर लिएर निस्कँदा वर्षातको समयमा बाटोमा जुन समस्या भोग्छु । त्यस्तै चरित्र नाटकमा पनि छ,’ सरिताले भनिन् । नाटकमा सरिता र प्रमिलाले गृहिणीको भूमिकामा अभिनय गर्दैछन् । पेशाले ट्याक्सी ड्राइभर कलाकार विजयले चाहीं नवविवाहित श्रीमानको भूमिका निभाउँदैछन् । विजयले सरकारले ट्याक्सीमा कर बढाएपछिको भोगाइलाई आफूमार्फत् नाटकमा देखाउने बताए । ‘सरकारले करका नाममा चिट काट्छ । त्यो कर तिर्न सकियो भने तिरियो । नत्र त्यसलाई निशुल्क मानेर नतिर्ने संस्कारलाई हामीले नाटकमा व्यंग्य गरेका छौं,’ विजयले भने, ‘त्यसैकारण पनि नाटकको नाम ‘सकेको तिरौला, नत्र फिरिमा’ राखेका हौं।’

नाटकको कथा अनुसार एक दिन सरिताले बजारबाट झोलामा महंगो सामान कोठामा ल्याउँदै गरेको छिमेकी प्रमिलाले देख्छिन् । प्रमिलाले सरितालाई ‘कहाँबाट यति महंगो सामान ल्याएको ?’ भनी सोध्दा सरिताले आफू र अन्य महिलाले सुपरमार्केट लुटेको र त्यो लुटिएको सामानको केही भाग कोठामा ल्याएको बताउँछिन् । उनीहरुले आफूले लुटेर ल्याएको सामाग्री इमान्दारिताका साथ काम गरिरहेका श्रीमान्, साथीभाइ र ट्याक्सी ड्राइभरले स्वीकार्ने अवस्था नआएपछि कथामा नयाँ ट्विस्ट आउँछ । त्यो ट्विस्ट थाहा पाउन चाहिँ दर्शकले नाटक नै हेर्नुपर्ने हुन्छ । साउन १८ गतेबाट मञ्चन हुने नाटक भदौ १० मा सकिनेछ ।